रेखा कलौनी
बगैँचामा हजारौं फूल फुल्ने गर्दछन्। ती सबै फूल फुलेको समय वरपरको वातावरण सुन्दर देखिन्छन् तर पनि हामीले सजाउने र टिप्ने भनेको जो आफ्नो नजरमा बेस्ट लाग्छ त्यो नै हो। बगैँचाका हजारौं फूल मध्ये हामी एक फूल मात्रै टिप्ने गर्छौं।
यस्तै मान्छे पनि हो। जीवनको यात्रामा धेरै मान्छेहरुसँग भेट हुन्छ। ती मध्ये कति धेरै मान्छे त मन पनि पर्छ, मन पर्नु स्वभाविक नै हो, जतिसुकै व्यक्ति मन परे पनि आखिर मुटु साट्ने भनेको एक जनासँग मात्रै रहेछ।
जब कुनै व्यक्ति अनायास मुटुमा बस्छ तब त्यो व्यक्तिको स्थान धेरै उचाइमा हुन्छ। चाहे त्यो व्यक्तिसँग जीवन जिउन पाइयोस् या नपाइयोस् तर एकचोटि मन मुटुमा बसेको व्यक्तिलाई बाहिर लछार्न सकिँदैन। माया गरेको व्यक्तिलाई मनले छुट्टै स्थान दिन्छ। त्यो स्थान जीवनमा अरु जस्तोसुकै व्यक्ति आए पनि उसले पाउन सक्दैन र मनले दिन पनि चाहँदैन।
हो, यस्तै प्रेमिल जोडी छन् यता पनि। उनीहरुको छुट्टै संसार छ, छुट्टै कथा छ। उनीहरुको प्रेम सम्बन्ध देखेर को मान्छे जल्दैन होला र? उनीहरुको जोडी परेवाको जोडी झैँ लाग्थ्यो। करिब ७ वर्षसम्मको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरे। त्यो जोडी देखेर सबै डाहा गर्थे। दुवै जना सुन्दर, सुशील, ज्ञानी भद्र थिए, सबैका प्यारा थिए।
माया गर्नु सबैको भाग्यमा लेखिएको हुन्छ तर माया प्राप्त गर्नु वा माया गरेकै मान्छेसँग जीवन बिताउन पाउनु सबैको भाग्यमा हुँदैन। उनीहरु एकदमै भाग्यमानी थिए जो मायालु जोडी सधैँभरिका लागि विवाहमा बाँधिन पाए।
राम्रो जागीर, ठूलो घर, इज्जत, पैसा सबै कुराबाट सम्पन्न थिए उनीहरु। मान्छेले आखिर चाहने भनेकै यति कुरा त होनि। सबै राम्रै चलिरहेको थियो। विवाह गरेको पनि दुई वर्ष भयो, सबै साथीभाइ समाजले ‘कहिले आमा-बाबा बन्ने?’ भन्ने प्रश्न गर्न सुरु गरिसकेका थिए। उनीहरुको पनि इच्छा थियो आमाबुबा बन्ने। तर भगवानले सबैकुरा सबैलाई प्रदान नगर्दा रहेछन्। उनीहरुसँग धन, सम्पत्ति, जागीर, माया, प्रेम सबैको आशीर्वाद सबैथोक थियो तर उनीहरुको सन्तान भएन।
भाग्यको दोष भनौँ, वा भगवानले नै उनीहरुलाई सन्तान दिन मानेनन्। उसो त चेकजाँच गर्न पनि ठूला-ठूला अस्पताल नधाएका होइनन् तर पनि उनीहरुको केही लागेन। सबैको उनीहरु आमाबाबा भएको हेर्ने आश रित्तो हुँदै गयो।
उनीहरुको विवाह भएको पनि दश वर्ष बित्यो। तर, यस अवधिसम्म पनि सन्तान सुख भने पाउन सकेनन्। अब त समाजले पनि प्राप्तीलाई बाँझी आइमाईको संज्ञा पो दिन थाल्यो। केही समय यता प्राप्ती गाउँ समाजमा आफ्नो बारेमा नराम्रो कुरा गरेको मात्रै सुन्न पाउँथी।
‘प्रकाशले प्राप्तीसँग विवाह गरेर आफ्नो सन्तान सुख गुमायो त कतै जागीरे केटीको लागि आफ्नो कुल नै मिच्यो। प्रकाशको कुललाई जोगाउन प्राप्तीले प्रकाशलाई बच्चा दिन सकिन’ यस्ता कुरा काट्ने समाजले एकचोटि पुरुषलाई दोष दिन सकेन, के थाहा प्रकाशमा पो केही कमी थियो कि!
तर डाक्टरका अनुसार प्रकाश र प्राप्ती दुवै जनामा समस्या देखाएको थिएन। त्यसकारण मेरो नजरमा दुवै जनाको भाग्यमा खोट थियो, सन्तान सुख नभोग्ने। त्यसैले आमाबाबा बन्न सकेनन्।
प्राप्तीलाई पनि बच्चा खेलाउने रहर नभएको कहाँ होर? आमा बन्नु हर कोही नारीको सौभाग्य हो तर त्यो सौभाग्यको भागिदार प्राप्ती हुन सकिनन्।
उसले वर्षौंदेखि आफ्नो कोठामा खेलौना राखेकी छ। शनिबार उसको अफिस बिदा हुने भएकाले ऊ गाउँभरिका बच्चाबच्चीहरुलाई आफ्नो घर बोलाउने गर्छे। कोठाभरि भएका खेलौना बाहिर निकालेर बच्चाबच्चीहरुसँग खेल्ने र मिठा परिकार सबै बच्चा-बच्चीलाई आफ्नो हातले खुवाएर पूरै जीवनभरिको सन्तान मोह लुट्ने प्रयास गर्छे।
विवाहपछिको मोह एक हो सन्तान मोह, ऊ पनि त्यही मोहको लागि सधैँ पिरोलिने गर्थी। गाउँकै बच्चाबच्ची भए पनि आफ्नाझैँ सम्झेर सधैँ माया प्रेम गर्थी, गाउँका बच्चाबच्चीहरु पनि प्राप्ती भनेपछि हुरुक्कै हुन्थे।
ऊ चाडपर्वमा गाउँका सबै बच्चाबच्चीहरुको लागि नयाँ लुगा ल्याइदिन्थी। प्राप्तीको त्यो सन्तानप्रतिको मोह देखेर प्रकाश सोचमग्न हुन्थ्यो। उसलाई के गरुँ के नगरुँ हुन्थ्यो। ऊ प्राप्तीको सन्तान मोह देखेर एकदमै व्याकुल हुन्थ्यो। कहिले सोच्ने गर्थ्यो कि प्राप्तीले मसँग विवाह नगरेको भए यो दुःख त पाउदिन थिई। फेरि आफैलाई सम्हाल्छ, हाम्रो भाग्यमा यही थियो र यसैमा रमाउनु पर्छ। यसरी प्रकाश आफ्नो चित्त बुझाउँथ्यो।
एक दिनको कुरा हो, सदाका शनिबार झैँ त्यो दिन पनि प्राप्ती गाउँका भुराभुरीसँग रमाउँदै उनीहरुलाई मिठा-मिठा परिकार खुवाउँदै थिई। यत्तिकैमा एकजना गाउँले महिला कराउँदै आइन्। ‘आफू त बाँझी आइमाई, अरुका केटाकेटीको समय बर्बाद गर्न र उनीहरुलाई पनि सन्तान सुखबाट बन्चित गर्न सबै केटाकेटीलाई आफूतिर तान्न पो यो गाउँ पसेकी रहिछे!’
ती महिला अन्य गाउँले महिलाहरुलाई बोलाउछिन्, ‘ए गाउँले दिदीबहिनी हो, किन आफ्ना केटाकेटीलाई यसरी छोडेका हौ? के थाहा भोलि यसले गर्दा हाम्रा छोराछोरीको हामी प्रतिको मोह पनि घट्छ कि? यस्ती बाँझी आइमाईलाई अलच्छिना भनिन्छ। यस्तीलाई यो गाउँमा नै राख्नु थिएन, आऊ आज यसलाई नसम्झाई भएन।’
यति भनेर ऊ लगायत गाउँका सबै आमाहरुलाई बोलाएर प्राप्तीको आँगनमा पुग्छन्। त्यहाँ फेरि उनले चर्को स्वरमा प्राप्तीलाई बाझी आइमाई, अलच्छिना तथा आफू आमा बन्न नसकेको र अरुका सन्तान लिएर के गर्न खोजेकी भन्दै कराइन्। ‘हाम्रा छोराछोरी खुरुक घर पठा।’
प्राप्तीको घर भित्रको हलमा ठूलो आवाजमा गीत बजाएर सबैजना रमाइलो गर्दै नाच्दै, खाने कुरा खाँदै, रमाउँदै भएकाले ती महिलाको आवाज प्राप्तीसम्म पुग्न सकेन। कसैले त्यो आवाज सुन्न भ्याएनन्।
त्यसपछि त्यो महिलाले गाउँले महिलाहरुलाई लिएर प्राप्तीको ढोकासम्म पुगी र बेस्सरी प्राप्तीलाई अपशब्द बोली। यति गर्दा गीत र रमाइलोले तातेको वातावरण एकैछिनमा आगोले जलिरहेको जंगलको आगोमा दमकलको पानी परे झैँ भयो।
रमाइरहेका सबै बाच्चाबच्चीहरु सिथिल भए तर प्राप्तीले भने ती महिला लगायत सबै ढोकामा उभिएका महिलाहरुलाई सम्मान र स्वागत गर्दै आसन ग्रहण गरीदिन अनुरोध गर्दै थिई। तर ती महिलाहरुले एकजना महिलाको पछि लागि हद पार गरे। उसलाई बाँझी आइमाई मात्रै भनी टोस्न थाले, यस्ता-यस्तै कुराहरुले उनको निःसन्तान हुनुको घाउमाथि झन् छेद पार्न थाले।
यी कुराले प्राप्तीलाई असह्य भयो। उसले भनी, ‘मेरा कोही सन्तान छैनन्। यसैले म उनीहरुलाई सन्तान मानी खुसी हुन चाहन्थेँ। मेरो इच्छा तपाईंहरुको खुसी खोस्नु थिएन र हैन पनि। अबदेखि म बोलाउदिनँ, माफ पाउँ तपाईंहरुको चित्त दुखाएछु। फेरि पनि सरी!’ यति भनेर ऊ भित्र गएर ढोकाको चुकुल लगाएर डाको छाडी रुन थाली।
यता बाहिर बच्चाबच्चीहरु रुन थाले। अबदेखि प्राप्ती आमालाई भेट्न नपाउने भयौँ भनी आ-आफ्नी आमालाई ती बच्चाबच्चीहरुले गाली गर्दै थिए तर पनि ‘हात्तीका मुखमा जिरा’ भने झैँ ती साना भुराभुरीको के नै चल्थ्यो र? मुखमा बुजा लगाएर मन जलाउँदै आखाभरि टिपटिप आँसु राखी आ-आफ्नी आमासँग अब प्राप्तीको घरमा कहिले पनि पाइला नटेक्ने गरी छोडेर गए।
यता प्राप्ती रुँदारुँदै मुर्छित झैँ भएर लम्पसार छे। यहीबेला प्रकाश बाहिरबाट आउँछ र अचम्म पर्छ। सधैँ शनिबार घरमा रमझम हुने गर्थ्यो आज के भएछ? मनमनै प्रश्न गर्दै थियो। प्राप्तीलाई बोलाउँछ तर ऊ बोल्दिन। बारम्बार बोलाउँदा पनि प्राप्ती बोल्दिन।
प्राप्ती कता गइछ भनी सबैतिर खोज्दछ र अन्तमा एक कोठा भित्र देख्छ। प्राप्तीलाई एकैछिन अंगालोमा बेस्सरी समाउँछ। उनीहरु दुवै रुन्छन्। प्रकाशले के भएको हो सोध्छ।
‘तिम्रो त शनिबार विशेष दिन पो हो तर यो सबै आज के देख्दै छु?’
प्रकाशलाई प्राप्तीले केहीबेर अघिको सबै वृत्तान्त सुनाउँछे। फेरि दुवैजना औधी रुन्छन्। त्यो समय वियोगान्तमै बित्यो। अब प्राप्तीको मनभरि त्यही महिलाहरुका अपशब्द मात्रै गुन्जिन थाल्यो। प्राप्ती दिनदिनै दुब्लाउदै गएकी थिई। ऊ कमजोर देखिन थालकी थिई। अफिसमा पनि उनले जे काम गर्दा पनि बिग्रिन्थ्यो मात्रै।
प्रकाश धेरै सम्झाउँथ्यो तर पनि प्राप्तीको चित्त बुझाउन सक्दैन। गाउँका बच्चाबच्चीहरु शनिबार आफ्नो परिवारलाई छलेर आउने गर्थे। त्यो बेला प्राप्तीको मन अलिकति खुसी हुन्थ्यो तर मानसपटलमा ‘बाँझी’ शब्द भिजेकाले होला पहिला जति मुस्कुराउन सकिन।
बच्चाबच्चीहरु लुकीछिपी जाने कुरा पनि उनीहरुका आमाहरुले थाहा पाए। अब शनिबार आयो कि सबै आमाहरुले आ-आफ्नो बच्चाबच्चीहरुलाई कोठामा थुनेर राख्थे गर्थे। विचरा बच्चाबच्चीहरु खुबै रुथ्ये तर के गरून्, रूनु शिवाय केही गर्न सक्दैनन्।
प्राप्तीको मनमा आफू निःसन्तान हुनुको पीडा अशोक स्तम्भ झैँ गाडिएको थियो। प्राप्तीको त्यो अवस्था देखेर प्रकाशको मनभित्र कालो ध्वाँसो पसिरह्यो। उसले के गरी प्राप्तीलाई खुसी राख्ने भनी उपाय खोज्दै गए। अन्तमा उपाय पत्ता लगाएरै छोड्यो।
उसले आफ्नो उपाय प्राप्तीलाई भन्छ, ‘माया हामी अनाथालयबाट बच्चा ल्याउँ न, हुन्न?’
प्राप्तीः हुन त हुने हो तर समाज फेरि उही होनि।
प्रकाशः समाज त हो, त्यसको लागि पनि मैले सोचेको छु।
प्रप्तीः के?
प्रकाशः अब तिमीले गाउँलेका अगाडि गर्भवती भएको नाटक गर्नुपर्छ।
प्राप्तीः अनि?
प्रकाशः अनि त्यो बेलासम्म कतै न कतैको अनाथ आश्रममा सानो बच्चा भेटिएला, त्यही लिएर आउँला नि माया।
प्राप्तीले प्रकाशको कुरा सहर्ष स्वीकार गर्छे।
दुवै जनाले अनाथालयबाट बच्चा ल्याउने सहमती गरे। त्यसपछि सबै गाउँलेलाई प्राप्तीले आफू आमा बन्दै गरेको खबर सुनाउँदै गई र प्राप्ती आमा बन्ने खबर गाउँभरि फैलियो। यो सुन्दा सबै गाउँले चकित भए। कसैले भने विश्वास गरेनन्।
‘अहिलेसम्म आमा बन्न नसकेकी आइमाई आज कसरी आमा बन्दै छ? यो कसरी?’ सबैका मनमा यो प्रश्न, प्रश्न बनेरै बस्यो।
समय बित्दै गयो, प्राप्तीले गर्भवती भएको अभिनय गरेको पनि नौ महिना बित्यो। नौ महिना बित्नै लाग्दा उनीहरु त्यो समाज, त्यो गाउँ छोडेर टाढा गए जहाँ उनीहरुले आफ्नो सन्तान खोजे।
अहिले उनीहरुको एक सन्तान मात्रै हैन, सयौँ सन्तान छन्। उनीहरुले अनाथ आश्रम खोलेका छन जहाँ अलपत्र परेका सयौँ अनाथ बालबालिका छन्। त्यो पनि विभिन्न भाषा, भेषभुष, धर्म र जातजातिका बालबालिका रहेका छन्।
उनीहरु त न जात न धर्म जगाउनु छ। बस् एक धर्म जगाउनु छ ‘मानव धर्म’ जहाँ सबैको आत्माको सम्मान होस्, भाइचारा होस्, उच-निचको भावना नहोस्, तेरो मेरो नहोस्। ती बालबालिकाबीच मानवता जगाउनु छ।
त्यो समाज जहाँ नारीको सम्मान छैन, एक नारी निःसन्तान हुँदा पनि अर्की नारीले अलच्छिनाको संज्ञा दिन्छ, त्यो समाजमा उनीहरुले बस्न चाहेनन् र गर्भवती भएको नाटक गर्दै अर्को संसार सजाउन तिर लागे।
त्यसैले नै एकदिन उनीहरुले त्यो गाउँ छोडेर जाने निर्णय गरे। दुवैजना सदाको लागि आफ्नो छुटै संसार खोज्न लागे जहाँ उनीहरु आफ्नो सन्तान खोज्न सकून्। प्राप्तीलाई त्यो समाजले दिएको संज्ञाको अन्त्य होस् भनी त्यो समाजमा अब पाइला नटेक्ने भनी उनीहरु निस्किए। उनीहरुले मानवता र मानव धर्मको स्थापना गर्नु जो थियो।
सेतोपाटीबाट साभार
फेसबुक प्रतिक्रियाहरु