बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराइने
अर्थ

पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराइने

 

सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज सोमवार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन ९आईओसी० लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ताबापतको नपुग चार अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गएको बिहीवार पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि १५ दिनमा झन्डै दुई अर्ब ५० करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ । निगमले आईओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ताबापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो । निगमले प्रत्येक महिनाको आठ र २३ तारिखका दिन आईओसीलाई किस्ता बुझाउँदै आएको छ । यसअघि स्थिरीकरण कोषबाट गएको जनवरी महिनामा निगमलाई एक अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।

निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ । विश्व बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलर नाघेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार