अफगानिस्तानसँगको पहिलो टी–२० क्रिकेटमा बङ्गलादेश ६१ रनले विजयी भएको छ । ढाकामा आज बिहीवार बङ्गलादेशले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १७ ओभर ४ बलमा ९४ रनमा अलआउट भयो । उसका लागि नजिबुल्लाह जादरनले २७, अजमतुल्लाह ओभरजाईले २० र कप्तान मोहम्मद नाबीले १६ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ बङ्गलादेशका नसुम अहमदले ४, शोरिफुल इस्लामले ३ र शाकिब अल हसनले दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५५ रन बनायो । उसका लागि विकेटकिपर लिटन दासले ६० र अफिफ होसेनले २५ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फजलहक फरुकी र अजमतुल्लाह ओमरजाईले समान २–२ विकेट लिए । योसँगै दुई खेलाको शृङ्खलमा बङ्गलादेश १–० ले अघि भएको छ । यी दुईबीचको दोस्रो टी–२० पर्सि शनिवार ढाकामै हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु