शनिबार, भदौ २२, २०८१
अर्थ

रुसी अर्थतन्त्र समस्यामा

युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा पर्न थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट आएको बीबीसीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका एटीएममा रकम झिक्नेहरूको भिड लागेपछि रुसको केन्द्रीय बैंकले बचत ब्याज दर दोब्बरभन्दा धेरै बढाएर २० प्रतिशत पु¥याएको छ । युरोपेली युनियन (ईयू) को प्रतिबन्धपछि युरोपमा रहेका रुसी स्वामित्वका बैंकहरूले काम बन्द गरिसकेका छन् । मस्को शेयर बजार बन्द रहेको छ । रुसको केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगाइएका कारण झन्डै ६ सय ३० अर्ब डलर विदेशी मुद्रा सञ्चिति प्रयोग गर्न नपाउने अवस्थामा पुगेको छ । अर्थतन्त्रमा असर पर्न सक्ने देखिएपछि रुसको केन्द्रीय बैंकले सबै विदेशी संस्था तथा व्यक्तिलाई सेयर तथा रुसमा गरिएको लगानी बिक्री गर्न रोक लगाएको छ । रुसमाथि अमेरिका र युरोपेली देशहरूले प्रतिबन्धहरू बढाइरहेका छन् । यस्तै हवाई क्षेत्रमाथि प्रतिबन्ध लगाउँदा रुसले लामो हवाई मार्ग प्रयोग गर्नुपरेको छ ।
यसैबीच चीनले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कुटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा रुस र युक्रेनबीच हिजो सोमवार भएको वार्ताले फेरि निरन्तरता पाउने अपेक्षा रहेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । युक्रेनमा रुसी आक्रमण अहिले पनि चलिरहेको छ भने सयौँ बख्तरबन्द गाडीसहित रुसी सेना युक्रेनको राजधानी किएभतर्फ गइरहेका तस्बिरहरू सार्वजनिक भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार