आइतवार, पुस ७, २०८१
  • होमपेज
  • एफनसीसीआइद्वारा एमसीसीको स्वागत
अर्थ

एफनसीसीआइद्वारा एमसीसीको स्वागत

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी पारित भएकोमा देशको निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपाललगायत संस्थाले आज साेमवार विज्ञप्ति निकालेर एमसीसी पारित हुनु नेपालको पूर्वाधार विकासको लागि सकारात्मक विषय भएको र यसलाई तत्कालै कार्यान्वयनमा लैजान मागसमेत गरेका छन् ।

उद्योग वाणिज्य महासङ्घले नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ । सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत् निर्यात एवम् प्रविधि हस्तान्तरणको समेत ढोका खुल्ने र एमसीसी अन्तर्गतका आयोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने महासङ्घले जनाएको छ ।

यस्तै उद्योग परिसङ्घले विकास आयोजना सुरु हुने तर कहिल्यै सम्पन्न नहुने अवस्थाको अन्त्यका लागि एमसीसी अन्तर्गतका आयोजनाले भूमिका खेल्ने दाबी गरेको छ । ठूला पूर्वाधार आयोजनाको कार्यान्वयनबाट देशको आर्थिक विकास, रोजगारी सिर्जना र आमनागरिकको जीवनस्तर सुधार गर्नेतर्फ सबैको सोचको विकास हुनुपर्ने परिसङ्घको भनाइ छ । परियोजनाहरूको कार्यान्वयनसँगै प्राप्त हुने विदेशी विनिमय अहिले नेपालमा विदेशी मुद्रा सञ्चितिको न्यूनता पूर्तिका लागि समेत उपयोगी हुने परिसङ्घको विश्वास छ ।

यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालले एमसीसीमार्फत बन्ने परियोजना ऊर्जा क्षेत्रको बहुप्रतिक्षित परियोजना भएको भन्दै ऊर्जा क्षेत्रको विकास र विस्तारमा मूल समस्याको रूपमा रहेको प्रसारण लाइनको अभाव एमसीसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार