बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २–१ ले पराजित,
Breaking News

नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २–१ ले पराजित,

 रविकुमार पासवानको दुई गोलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २–१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा रविले दुवै हाफमा एक–एक गोल गरे । च्यासलका लागि विदेशी खेलाडी माउसा अबागानाले एक गोल फर्काए । च्यासलको १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि गत माघ २ गते तय भएको खेल स्थगित भएको थियो । सोही खेल बुधबार खेलाइएको हो ।खेलको ३७ औं मिनेटमा निरकुमार राईको पासमा रविकुमार पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा पेनाल्टीमार्फत च्यासलले बराबरी गोल फर्काएको थियो । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्ताैलालाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो र त्यसमा माउसा अबागानाले गोल गरेका हुन् । ७० औं मिनेट रवि पासवानले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले पुनः अग्रता लियो । त्यसपछि पनि च्यासलले खेल बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । च्यासलका अभिषेक लिम्बु दुई अवसरमा चुके । उनको एउटा प्रहार बारमा लागेको थियो । यस्तै वैकल्पिक खेलाडी कर्ण लिम्बुले पनि गोलको एउटा अवसर गुमाए । लिगमा दोस्रो जितपछि ९ खेलबाट १० अंक जोडेर पुलिस अंक तालिकामा एक स्थान सुधार गर्दै दशौं स्थानमा उक्लेको छ ।च्यासल भने यो हारपछि रेलिगेसनको दबावमा परेको छ । उसले ९ खेलबाट ५ अंक मात्र जोड्दै १३ औं स्थानमा छ ।

 पुलिसका प्रशिक्षक अनन्तराज थापाले आवश्यक ३ अंक जोड्न सफल भएको बताए । ‘हामीलाई जसरी पनि ३ अंक चाहिन्थ्यो, त्यो ल्यायौँ । पहिलो हाफ राम्रो भयो र गोल पनि भयो’ उनले भने ।
च्यासलका प्राविधिक निर्देशक (टेक्निकल डिरेक्टर) लेइघ मानसनले धेरै अवसर बनाएपनि गोल गर्न नसक्दा हार बेहोर्नुपरेको बताए । ‘हामी निराश छौँ । किनकी दोस्रो हाफमा राम्रो खेल्यौं, धेरै अवसर बनायौं । तर गोल गर्न सकेनौं । धेरै खेलमा हामीले प्रतिस्पर्धात्मक खेलेका छौं । तर गोलमा भाग्य देखिराको छैन मानसनले भने ।

 मानसनले बाँकी ४ खेलमा राम्रो प्रदर्शन गर्दै ए डिभिजनमै रहन प्रयास गर्ने र त्यो सम्भावना अझै रहेको बताए । बुधबारको खेलपछि लिगका नवौँ चरणका खेलहरु सकिएका छन् । आगामी शुक्रबारदेखि दशौँ चरणका खेलहरु हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार