बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णयः कमल थापा
Breaking News

अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णयः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । आज हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजदेखि म राप्रपाबाट अलग भएको छु ।’

हेटौँडा आएर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले नयाँ पार्टी खोल्ने सङ्केत गरेका छन् । अहिले तत्काल आफू पार्टीबाट अलग हुने र पछि सबैको सल्लाहमा मात्र के गर्न सकिन्छ त्यही गर्ने उनले बताए ।मकवानपुरमा रहेका राप्रपा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपाका निवर्तमान अध्यक्षसमेत रहेका थापाले अब नयाँ यात्रामा अगाडि बढ्ने बताए । अब आफूहरू सक्रिय राजतन्त्र बोकेर नहिँड्ने बताउँदै उनले राजनीतिमा सबैखालका अवरोध हटाएर नयाँ सम्भावनातिर लागेको बताए ।

राप्रपालाई राजनीति पार्टी भन्दा पनि राजाको पुनर्स्थापना गर्ने भजन मण्डली समिति बनाउन लागिएको नेता थापाको आरोप छ । नियोजित रूपमा पार्टीभित्रको चुनावमा चार सयभन्दा बढी मत बदर गरिएको उनको दाबी छ । उनले आफूहरूले परिकल्पना गरेको राजसंस्था पार्टी राजनीतिभन्दा माथि रहेको बताए ।

पूर्वराजाको हस्तक्षेपकारी भूमिकाकै कारण आफूले पार्टीको अध्यक्ष पदको चुनावमा पराजित हुनुपरेको आरोप लगाए । राप्रपा राजाले खोलेको पार्टी नभएको बताउँदै उनले भने, ‘म जितेको भए पनि निर्मल निवासले चुनावमा गरेको हस्तक्षेपको विरोध गर्थेँ । पहिले पनि राजाकै कारण पार्टी फुटेको हो । अहिलेको पार्टीभित्रको चुनावमा पनि राजाले हस्तक्षप गरे । यो सह्य भएन ।’

गएको मङसीरमा भएको एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनको चुनाव प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् । पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्था आउँदा दिनमा दोहोरिन नदिन पार्टीले कदम चाल्नुपर्ने माग थापाको छ ।

थापाले विज्ञप्ति नै निकालेर पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको र त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताए । अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार