आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • प्रचण्डको दोहोरो चरित्र छताछुल्ल !
Breaking News

प्रचण्डको दोहोरो चरित्र छताछुल्ल !

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) दोहोरो चरित्र देखाइरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नैतिक संकटमा परेका छन् । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले लेखेको पत्र सार्वजनिक भएसँगै प्रचण्डको दोहोरो चरित्र पनि छरपष्ट भएको देखिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुनु हुँदैन भनेर अडान लिइरहेका प्रचण्डले आफैं एमसीसीलाई पास गर्ने पत्र लेखेको सार्वजनिक भएपछि उनको दोहोरो चरित्र छरपष्ट भएको छ । चार महिनाअघि दुवै नेताले एमसीसी बोर्डलाई पठाएको पत्रमा संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाइएको छ ।

पत्रमा एमसीसी सम्झौता संसदबाट पास गराउन आफूहरू प्रतिबद्ध रहेको भन्दै त्यसका लागि चाररपाँच महिनाको समय दिन आग्रह गरिएको छ । सम्झौता अनुमोदनको दबाब दिन नेपाल भ्रमणमा आएकी एमसीसी बोर्ड उपाध्यक्ष फातिमा सुमारसँगको भेटपछि दुवै नेताले संयुक्त पत्र पठाएको खुलेको छ ।

एमसीसीको यस्तो ताकेताले सबभन्दा बढी नैतिक संकट नै माओवादी अध्यक्ष प्रचण्डलाई परेको छ । एमसीसी बोर्डका कार्यवाहक मुख्य कार्यकारी अधिकृत मोहमद बहले बिहीबार प्रधानमन्त्री देउवा र प्रचण्डलाई सम्बोधन गर्दै जवाफी ताकेता पत्रसमेत पठाएका छन् ।
पत्रमा अमेरिकाले एमसीसी संसद्बाट पारित गर्नका लागि आगामी फेब्रुअरी २८ अर्थात् फागुन १६ सम्मको ‘डेडलाइन’ समेत तोकिदिएको छ । सो अवधिसम्म सरकारलाई सांसद तथा सत्तारुढ दलसँग छलफल गरेर एमसीसी पारित गर्न एमसीसीले पत्रमा दबावको शैलीमा आग्रह गरेको छ ।

एमसीसी पारित गराउने प्रतिवद्धतासहित देउवा र प्रचण्डले पठाएका ६ बुँदा

१. एमसीसीबाट प्राप्त स्पष्टीकरणबारे गठबन्धनका साझेदारहरु तथा हाम्रा पार्टीका सदस्यहरुबीच छलफल गराउनेछौं ।
२. एमसीसी कार्यान्वयनका चुनौतीहरु र भ्रमहरु चिर्नका लागि नेपाल सरकारको साधन स्रोतबाट नेपाली जनतामा सन्देशहरु प्रवाह गर्नेछौं ।
३. सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरुको संयुक्त पत्रकार सम्मेलन गरेर एमसीसीबारे सरकारको धारणामा सकरात्मक बल प्रदान गर्नेछौं ।
४. सरकारी सञ्चारमाध्यमहरुबाट एमसीसीबारे सही सूचना प्रवाह गराउनेछौं ।
५. एमसीसी सम्झौतालाई द्रूत कार्यान्वयन गर्न एमसीए नेपाललाई प्रोत्साहन गर्नेछौं ।
६. प्रतिनिधिसभाका सभामुखलाई एमसीसी सम्झौता संसदमा टेबल गर्न संयुक्त रुपमा आग्रह गर्नेछौं ।

एमसीसीले फागुन १६ को समय सीमा दिँदै एमसीसी पारित गर्न पत्र पठाएपछि प्रधानमन्त्री देउवा तरंगित बनेका छन् । यता प्रधानमन्त्री शेरबहादुर देउवा भने पहिलेदेखि नै एमसीसीको पक्षमा देखिएका थिए । एमसीसीको बिरोध गरिरहेका प्रचण्ड भने एकतर्फी एमसीसीलाई खुसी पार्न समर्थन गर्ने र अर्कोतर्फ जनताको आँखामा छारो हाल्न विरोध गर्ने अनुहार छरपष्ट भएको हो ।

केही समयअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले पनि दोहोरो चरित्र देखाएका थिए । सरकारमा हुँदा छिटो पास गर्ने पक्षमा देखिएका ओली सरकारबाट बाहिर निस्केपछि भने एमसीसीको आलोचना गर्दै आएका छन् । तर, एमालेको समर्थन पनि एमसीसीकै पोल्टामा देखिएको छ । एमालेले सभामुख अग्नी सापकोटालाई हटाएर एमसीसी पारित गराउन पटक पटक ताकेता गरिरहेको छ ।

एमसीसी बोर्डले देउवा र प्रचण्डलाई बिहीबार जवाफी पत्र पठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । यसका लागि देउवाले ओलीलाई चारबजे बालुवाटारमा भेट्न बोलाएका हुन् । उनीहरुबीच एमसीसीकै बारेमा छलफल हुन लागेको बालुवाटार स्रोतले जनाएको छ । बालुवाटारमा हुने उक्त भेटमा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने बताइएको छ ।

एमसीसीले देउवा र प्रचण्डलाई पठाएको जवाफी पत्र

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार