भूमिराज खत्री
धनगढी । शुक्रबार छोरा गौरव केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बिहान ९ नबज्दै धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा पुयौं । सरकारी अस्पतालमा सेवा लिन झन्झटिलो हुन्छ भन्ने सुनेको हुँदा हामी ९ बजे नै लाइनमा बस्यौं । टोकन प्रणाली प्रभावकारी नभएको भन्दै लाइनमा बसेका सेवाग्राहीहरूले कानाखुसी गरिरहेका थिए । आउने जानेको पनि उस्तै घुँईचो थियो ।
बिरामीहरू लामो समय लाइनमा बस्न नसकेर कोइ चिसो भुइमा त कोही बस्ने सहयोगीलाई लाइनमा पठाइरहन्थे । यो क्रम करिब तीन घण्टासम्म चलिरह्यो । हामी झन्डै दुई घण्टा लाइनमा बसेपछि टोकन लिएर ओपीडीमा पस्न पायौं ।
थकानको स्वास फेर्दै ओपीडीमा पस्न पाएको पनि धेरै टिकेन । टोकनको लाइनभन्दा बढी समय ओपीडीमा खर्चनुपयो । अनौठो कुरा त के भने सरकारी अस्पतालको सेवा चिकित्सक तथा ठूलावडाका आफन्तका भन्दाबाहेक अरुलाई रहेनछ भन्ने नै झल्किन थाल्यो । एक कल फोनकै आधारमा ठूलाबडाका आफन्तले सेवा लिएर फर्किने रहेछन् ।
हामी दुई घण्टादेखि सुरुकै लाइनमा बसेको बेला पनि अस्पतालमा एक दर्जनभन्दा पछि पालो आयो । कतिपय ठाउँमा त सेता पोसाकधारी (स्वास्थ्यकर्मी) हरु आफैं आएर आफन्तको हातै समाएर ओपीडीको सेवा दिइरहेका थिए । सामान्य उपचारका लागि एक जनाले दिनभर अस्पतालमा पालो कुर्दा पनि अस्पताल प्रशासन मुखदर्शक नै बनिरहन्छ । सेवाग्राहीले दुःख पाइरहन्छन् । चिकित्सकहरु एक दुई घण्टा अस्पतालमा बसेर क्लिनिकमा जान दौडधुप गरिरहन्छन् ।
सुदूरपश्चिमको प्रादेशिक अस्पताल प्रदेशकै ठूलो अस्पताल हो । त्यो अस्पतालमा आवश्यक कर्मचारी तथा स्वास्थ्यकर्मीहरु पर्याप्त छन् । तर, स्वास्थ्य सेवा हेर्दा अस्पताल आफैं बिरामी परेको देखिन्छ । आफन्त तथा नाताबादकै कायम देखिएको अस्पतालमा सर्वसाधारणले चिकित्सकको अनुहारै नदेख्ने, देखिहालेमा चिकित्सकको अनुहार उज्यालो देख्ने त भाग्यमानी जस्तै हुन्छ ।
एक जना अस्वस्थ बालक कपिल धामी पनि उपचारका लागि आएका थिए । उनका आफन्तलाई चिकित्सकले लेखिदिएको कागज थम्याएदिएको थियो । औषधी किनेर ल्याउनु भनेको रहेछ । तर, मेडिकलमा औषधी नबुझेको भन्दै फिर्ता आएका रहेछन् । डाक्टलाई देखाउँदा उल्टै हकारेको स्पष्टै सुनिन्थ्यो । त्यसपछि त उनी किन यो अस्पताल आएँ हुँला भन्ने जस्तै भए ।
कतिपयका लागि भने बिरामी पर्चासमेत चाहिदैन । एक जना हामीसँगै लाइनमा बसेका पुरुषले पटक पटक फोन गरिरहेका थिए । पछि एक जना सेतो पोसाकधारीले उनलाई सिधै ओपीडीमा लिए । उहाँ हामीसँग लाइनमा लागेको फोन सम्पर्क नभएर रहेछ । अस्पतालको प्रांगण तथा बिरामीले प्रयोग गर्ने शौचालयको अवस्था सुन्दा त जो कोहीलाई पनि आश्चर्यजनक हुन सक्छ ।
बिरामीले प्रयोग गर्ने शौचालमा त सुर्ती र चुरोटकै खोस्टाले भरिएका छन् । यो अवस्था हेर्दा बिरामीको कुरुवा भएर गएको मान्छे पनि अस्वस्थ भएर फर्किनुपर्ने अवस्था छ । जनताले कर तिरेर बनेका अस्पताल, जनताको करबाट तलबभत्ता खाइरहेका कर्मचारी तथा स्वास्थ्यकर्मीहरु त जानकारबिहीन जस्तै छन् । दुई नबज्दै चिकित्सक फरार, चार नबज्दै कर्मचारी फरार । यो प्रादेशिक अस्पतालका लागि नौलो होइन ।
फेसबुक प्रतिक्रियाहरु