शनिबार, साउन १२, २०८१

भारतमा बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय,११ जनालाई आजीवन कैद

भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् । १३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसालमा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आतंकवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहर्याइएको समाचारमा उल्लेख छ  ।